सुन्दरहरैँचा नगरपालिकाले गछिया र बूढी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि शङ्कास्पद तरिकाले ठेक्का दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक अनुसन्धान सुरु गरेको छ।

चालु आर्थिक वर्ष २०८१र०८२ का लागि खोलाको ठेक्का प्रक्रिया पारदर्शी नभई अनियमित ढङ्गले अघि बढाइएको पाइएपछि अख्तियार सक्रिय बनेको हो। यसअघि सार्वजनिक रूपमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र ठेकेदार बिचको मिलेमतोमा दुवै खोलामा चरम दोहन भएको भन्दै आलोचना भएको थियो।

प्राकृतिक स्रोतमा मनपरी दोहन गरिएको भन्दै स्थानीय स्तरमा चासो बढिरहेकै बेला अख्तियारले प्रक्रिया र संलग्न व्यक्तिहरूमाथि अनुसन्धान सुरु गरेको हो। विशेषतः मेयर केदारप्रसाद गुरागाईँ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने लगायतको भूमिकामाथि प्रश्न उठेको छ। उनीहरूको संरक्षणमा अत्यधिक दोहन गरिएको र नियन्त्रणका लागि कुनै गम्भीर प्रयास नगरेको आरोप लाग्दै आएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियाले खोलाको ठेक्कामा भएको अनियमितता र जथाभाबी उत्खननसम्बन्धी विषय सार्वजनिक भएपछि आयोगले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए।

स्थानीय तहमा प्राकृतिक स्रोतको दोहन र सार्वजनिक स्रोतको दुरुपयोगप्रति आम नागरिक र सरोकारवालाहरूको चासो बढिरहेका बेला अख्तियारको अनुसन्धानले यो विषय थप उजागर हुने अपेक्षा गरिएको छ।