काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सिमा निर्धारण गरेको हो। 
बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट सिमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दैछ। 
बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका हुन्। 
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ। 
शुक्रवार बस्ने ४० औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभा मार्फत  बजेट सार्वजनिक गर्ने छ। 
नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्नेछिन्। 
बैठकमा राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।