पूर्वराष्ट्रपति डा. रामवरण यादवले शनिवार काठमाडौँको वसन्तपुर दरबारस्थित हनुमान ढोका सङ्ग्रहालय प्राङ्गणमा आयोजित एक विशेष समारोहमा ‘सत्सङ्गदीक्षा’ पुस्तकको नेपाली संस्करण लोकार्पण गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समिति र स्वामीनारायण सेवा संस्था नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले पुस्तकमा समेटिएको शिक्षाले नेपाली समाजका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गरे।
पूर्वराष्ट्रपति यादवले भने, ‘स्वामी भद्रेस दासले जुन ३१५ सूत्रहरू संस्कृतिबाट गुजराती हुँदै नेपाली भाषामा सरल शैलीमा लेख्नु भएको छ, त्यो समाज सुधारका लागि अत्यन्तै उपयोगी छ। मानव–मानवबीच कसरी आपसी सम्मान कायम राख्ने, समाजलाई सकारात्मक दिशातर्फ कसरी उन्मुख गराउने भन्ने कुराहरू यसमा सूत्र बद्ध ढङ्गले प्रस्तुत गरिएका छन्।’
उनले नेपालमा सनातन बौद्धिक परम्पराको गहिरो जड रहेको उल्लेख गर्दै त्यस्तो परम्पराको संरक्षण र अध्ययनमा लाग्ने व्यक्तिहरू कम रहेकोप्रति चिन्ता व्यक्त गरे।
‘हाम्रो संस्कृति र परम्पराको गहिरो अध्ययन गर्नेहरूको सङ्ख्या न्यून छ। यस्तो अवस्थामा स्वामी भद्रेस दासले जुन कार्य गर्नुभएको छ, त्यो उल्लेखनीय छ।’ यादवले भने।
सो अवसरमा स्वामी भद्रेस दासद्वारा रचित ‘सत्सङ्गदीक्षा’ पुस्तक नेपाली भाषामा अनुवाद गरिएको छ। पुस्तकमा धार्मिक, नैतिक तथा सामाजिक मूल्य–मान्यतामा आधारित ३१५ वटा सूत्र समेटिएका छन्।