नेसनल प्याब्सन झापा जिल्ला समितिले झापाको बिर्तामोडमा एक दिवसीय पूर्वप्राथमिक शिक्षा (ईसीडी) तालिम सहित नयाँ कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेसनल प्याब्सनका निवर्तमान अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख पाण्डव हमाल ठकुरी रहेका थिए भने महासचिव प्रतापबहादुर थापा विशेष अतिथिका रूपमा सहभागी भएका थिए। 
तालिमको प्रशिक्षण नेसनल प्याब्सनकी केन्द्रीय सदस्य तथा प्री– स्कुल समिति सदस्य निता श्रेष्ठले दिएकी थिइन्। तालिममा झापा जिल्लाका ३० वटा विद्यालयहरूबाट ११५ जना शिक्षक / शिक्षिकाहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको समन्वय र स्वागत मन्तव्य सुवर्ण भट्टराईले गरेका थिए भने सदस्य हरि धिमालको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको थियो। उद्घाटन सत्रमा सञ्चालन देशराज नेम्बाङले गरेका थिए। 
कार्यक्रममा कोशी प्रदेश समिति, मोरङ जिल्ला समिति तथा नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल समेतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै अहिलेको २१ औँ शताब्दीमा युग सुहाउँदो शिक्षा अहिलेको आवश्यकता रहेको बताउनु भयो भने केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाले पठाउनु भएको शुभकामना सन्देश समेत व्यक्त गरे।  महासचिव थापाले संस्थागत शिक्षाको गुणस्तर अभिवृद्धिमा यस्ता तालिमहरू महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।
सोही कार्यक्रममा ११ नयाँ विद्यालयले सङ्गठनको सदस्यहरू लिई प्रवेश गरेका थिए।
महासचिव थापाले आफ्नो सम्बोधनमा काठमाडौँ विश्वविद्यालय (केयू) सँगको सहकार्यमा नेसनल प्याब्सनले पूर्व प्राथमिक तहका बालबालिकाका लागि विशेष पाठ्यक्रम निर्माण गरिसकेको जानकारी दिए। सो पाठ्यक्रम सबै सदस्य विद्यालयहरूमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थागत रूपमा नेसनल प्याब्सन प्रतिबद्ध रहेको स्पष्ट पारे।