राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का असन्तुष्ट पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन्। पार्टीले गरेको निर्णयविरुद्ध उनीहरू आयोगमा निवेदन बुझाउन गएका हुन्।
संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको लक्ष्यसहित ‘जनआन्दोलन परिचालन समिति’ गठन गरेर आन्दोलनको अगुवाइ गरिरहेका नवराज सुवेदीले आफूलाई राप्रपाको अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन्।
अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीविरुद्ध असन्तुष्ट समूह आइतबार आयोगमा उजुरी दिन पुगेको हो। पार्टीको अनुशासन समिति संयोजकबाट हटाइएका सुवेदी, प्रवक्ताबाट हटाइएका सगुन सुन्दर लावतीसहित पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायतका नेता आयोग पुगेका हुन्। 
सुवेदीले आफ्नो  पार्टीभित्र भएको अन्यायविरुद्ध आवाज उठाउन आयोग पुगेको बताएका छन्। उनले आफूहरूको यो कदम पार्टी विभाजनका लागि नभएको पनि प्रतिक्रिया दिए।
सुवेदीले अहिले देखा परेको विवादले पार्टी नफुट्ने बताउँदै विधानविरीत आफूलाई हटाइएकोमा आफ्नो असन्तुष्टि रहेको दाबी गरे। सुवेदीले आफूलाई अनुशासन समिति अध्यक्षबाट हटाउने निर्णय केन्द्रीय समितिबाट नभई अध्यक्षबाट मात्रै भएको पनि बताए। 
‘मैले राप्रपा सचिवालयमा सोधेँ–मलाई अध्यक्षजीले अनुशासन समिति अध्यक्षबाट हटाउनु भएको हो भनेर, सचिवालयले हो भनेपछि मैँले अध्यक्षजीसँग कुरा गरेको छैन। तर यस्तो विवादले पार्टी भने फुट्दैन। निर्णय गर्नुअघि मलाई सोधिएको छैन, मलाई चिठी दिएको पनि छैन। मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकालेर अर्को मानिस ल्याउनु भयो भन्ने,’ उनले भने, पार्टीभित्र भएको अन्यायका कारण उजुरी दिएको उनको भनाइ छ। 
उनले आफूले अनुशासन विपरीत काम नगरेको पनि बताए। पार्टी अझै बलियो होस् र षड्यन्त्र नहोस् भनेर निर्वाचन आयोगमा उजुरी दिएको उनले बताए। उनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन नहराएको पनि बताए।