प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा सरकारको तर्फबाट कुनै कमी नरहने बताएका छन्।
शुक्रवार काठमाडौँमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा शुक्रवार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा बोल्दै उनले चीनसँगको मित्रता व्यापक बनाइने बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, ‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन। मित्रताका लागि गच्छे चाहिँदैन। गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइने छ। अझ व्यापक बनाइने छ।’
प्रधानमन्त्री ओलीले नेपाल र चीन अत्यन्तै पुराना र ऐतिहासिक देशहरू भएको भन्दै नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताए।
‘यसले पुस्ता पुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउने छ। बहुआयामिक सम्बन्धलाई बढाउँछ। सम्बन्धहरू लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरू हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तीकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गरिएको थियो।