खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण
खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई प्रभावकारी बनाउन आइतबार राति अनुगमन गरेका छन्।
गत राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शमशेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन्।
मन्त्री यादवले गत राति खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शमशेर सडकका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतको पाइपलाइन बिच्छाइएको क्षेत्रमा भए गरेका कामहरूका बारेमा प्रत्यक्ष रूपमा जानकारी लिन अनुगमन तथा निरीक्षण गरेका छन्।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन (३१५ मिमि) २८0 मिमि (एचडिइपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले पाएको मन्त्री यादवले बताए।
उनले भने,‘मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बालुवाटार लगायतका क्षेत्रमा पाइपलाइन बिच्छाउने काम सफल भएको पाइयो। ती क्षेत्रमा अब चाडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु।’ पाइप लाइनको दबाब परीक्षण (प्रेसर टेष्ट) को तयारी तथा कार्य सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि डिएमए एच २, आई ३, आई ४ र आई ५ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शमशेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए। उनका अनुसार पानी वितरण पश्चात् उक्त क्षेत्रका करिब ३ हजार ५०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।