प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुई पक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयन लगायत विषयमा कुरा भएको हो।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको दोहोर्याए। उनले हालैको आकस्मिक बाढीका कारण ध्वस्त रसुवागढी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिए।
नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको उनले बताए। उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन चीनसँगको किमाथांकालगागत अन्य नाका सञ्चालन र ‘बेल्ट एण्ड रोड इनिसियटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाको सञ्चालन बिना अवरोध अघि बढ्नुपर्नेमा जोड दिए।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारी उपस्थित थिए।