भक्तपुरको ठिमीमा मृत भेटिएका दिदीबहिनी दुई साताअघि भारतको मुम्बईबाट नेपाल आएर बसेको तथ्य खुलेको छ।
परिवारलाई थाहा नदिई उनीहरू के कति कारणले नेपाल आए भन्ने कुरा प्रहरी अनुसन्धानबाट अझै खुल्न सकेको छैन। प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीले अहिले उक्त घटनाको अनुसन्धान गरिरहेको छ।
मुम्बईस्थित मीर भाइन्दरमा बस्ने १६ वर्षीया मेनुका कँडेल र १३ वर्षीया सिर्जना कँडेल बिहीबार बिहान मध्यपुर ठिमी नगरपालिका– ८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको जस्ताको टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
भक्तपुर परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मेनुका र सिर्जनाको मृत्युको कारण खुलेको छैन। उनले भने, ‘बुवाआमा मुम्बईबाट दिल्ली हुँदै जहाजमा काठमाडौं आउँदै हुनुहुन्छ, त्यसपछि मात्रै यी दिदीबहिनी किन काठमाडौं आए, परिवारमा के भयो लगायतका कुरा खुल्छ।’
‘भारतकै एक टेलिभिजनलाई मेनुका र सिर्जनाका बुवाआमाले बताएअनुसार उनीहरूलाई एक होटलमा, त्यो पनि सीसीटीभी नभएको ठाउँमा काममा लगाइएको रहेछ,’ डीएसपी नेउपानले भने, ‘अब बुवाआमा आएपछि नै बुझ्छौं।’
सुर्खेत पञ्चपुरी नगरपालिका– ८ स्थायी घर भएका बासुदेव कँडेल र उमा कँडेल मुम्बईमा सपरिवार बस्दै आएका थिए। छोरीहरूको मृत्युको खबरपछि उनीहरू नेपाल आउँदै गरेको बताइएको छ।
