रसुवाको गोसाइँकुण्डमा नुहाउने क्रममा आइतबार डुबेर ज्यान गुमाएका दुईजनाको शव सुरक्षाकर्मीको टोलीले काँधमा बोकेरै सदरमुकाम धुन्चे ल्याउँदै छन्।
मोरङको बेलबारी र विराटनगरका दाजुभाई सुजन ढकाल र मनोज न्यौपानेको शव सेनासहितका सुरक्षाकर्मीले स्ट्रेक्चरमा बोकेरै चन्दनबारी गुम्बासम्म ल्याइसकेका छन्।
आइतबार गोसाइँकुण्डमा चिप्लिएर एकजना डुबेपछि बचाउन पसेका अर्काको पनि ज्यान गएको थियो। बेलबारी नगरपालिका-११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका-३ का २६ वर्षीय सुजन ढकालले गोसाइँकुण्डमा डुबेर ज्यान गुमाएका थिए। उनीहरू मामा र फुपूका छोरा हुन्।
उनीहरू डुबेको खबर आएपछि धुन्चेबाट गएको सेना र प्रहरीको टोलीले सोमबार बिहान १० बजे शव निकालेको थियो। उनीहरूको शव धुन्चेसम्म ल्याउन सेनाले ठूलो मिहिनेत गर्नु परेको छ। प्रतिकूल मौसमले हेलिकप्टर लैजान सम्भव नभएकाले दुवै शव स्थलमार्गबाट बोकेरै ल्याइएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले दुवैजनाको शव स्ट्रेचरमार्फत् पालैपालो बोकेर चन्दनबारी गुम्बामा ल्याएको थियो। अब उनीहरूको शवलाई धुन्चे झार्न थप टोली त्यसतर्फ गएको छ।
शनिबार ढकाल र न्यौपानेसहित १३ जना युवा साउने तीर्थका लागि काठमाडौंबाट रसुवा आएका थिए। ११ साउन आइतबार बिहान उनीहरू रसुवाबाट गोसाइँकुण्ड पुगेका थिए।
