बेलबारी नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको नव निर्मित भवन  शनिबार बिहान आयोजित एक कार्यक्रमबीच मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल कुमार शर्माले अस्पतालको नयाँ भवन उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख दिल प्रसाद राईले अस्पताल भवन निर्माणको प्रक्रिया, प्रगति र भावी योजनाबारे विस्तृत जानकारी दिएका थिए।

नगरप्रमुख राईका अनुसार भवन निर्माणको ठेक्का २०७८ साल बैशाख ९ गते १० करोड ५९ लाख ३२ हजार १ सय ६६ रुपैयाँ ८४ पैसामा सम्झौता गरिएको थियो। निर्माण कार्य २०८१ साल असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही महिनाको म्याद थप गरेर अन्ततः २०८१ साल मङ्सिरमा काम सम्पन्न भई बेलबारी नगरपालिकालाई हस्तान्तरण गरिएको हो।

नगरप्रमुख राईले हालको संरचना भवन निर्माणमा मात्रै सीमित रहेको जनाउँदै, अस्पतालको सुरक्षाका लागि कम्पाउण्ड वाल र वर्षामा पानी निकासका लागि आवश्यक ड्रेन  निर्माणको ठेक्का समेत भइसकेको र ती कामहरू छिट्टै सुरु हुने जानकारी दिए।

नगर-प्रमुख राईले  नगर अस्पतालमा औषधि आपूर्तिको विषयमा अगाडी उठेका जनगुनासोहरूलाई आत्मसात गर्दै अबदेखि औषधिको गुणस्तरमा विशेष ध्यान दिइने उल्लेख गरे। “अब सेवा मात्र होइन, गुणस्तरीय सेवा हाम्रो प्राथमिकता हुनेछ,” उनले भने।

नगरप्रमुख राईले कोशी प्रदेश प्रहरी अस्पतालप्रति कटाक्ष गर्दै भने, “९–१० करोडको भवन, ठूलो जमिन, अनि १०–१२ करोड बराबरको बेलबारी नगरपालिकाको नाममा रहेको जग्गा पनि पचेन। बोकालाई घिउ पच्दैन, कुकुरलाई घिउ पच्दैन भन्ने जस्तै भयो कोशी प्रदेश प्रहरी अस्पताललाई।”

उक्त अवसरमा अस्पताल प्रशासनले नव निर्मित भवनबाट आइतबारदेखि २४ घण्टा सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएको छ। आकस्मिक सेवा पनि निरन्तर रूपमा उपलब्ध हुने व्यवस्था गरिएको छ। यससँगै बेलबारी नगरवासीहरूका लागि स्वास्थ्य सेवामा थप पहुँच र सुविधा सुनिश्चित भएको विश्वास गरिएको छ।