पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दाजुबहिनी स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन्।
स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मङ्गलवार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएका हुन्।
उनीहरू भेटिएको स्थानलाई प्रहरीले सुरक्षित गरेर घटनाको अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बालबालिका साउन १५ गते शुक्रवार बिहानदेखि हराइरहेका थिए।
बेपत्ता बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी, वडा कार्यालय तथा जनप्रतिनिधिहरू गाउँ र आसपासको जङ्गल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरेका थिए।
च्याङथापु १ र ८ लाई सिमाना छुट्याएर बग्ने बिरुवा खोलामा दुवै जनाको शव भेटिएको हो। बालबालिकाको शव घटनास्थलको प्रकृति मुचुल्का तयार गरेर पोष्टमार्टका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन्।