राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा भइरहेका शोषण, हत्या र मानव तस्करीको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा धारणा राख्ने क्रममा
सांसद कार्कीले सत्तारूढ दलहरूलाई देश लुटे पनि नेपालीलाई भिजिट भिसाका नाममा विदेश लगेर नबेच्न आग्रह गरेकी थिइन्।
‘भ्रष्टाचार त गर्यौँ–गर्यौँ, देश त लुट्यौँ लुट्यौँ, नेपालीहरूलाई नमार,’ उनले भनिन्, ‘भिजिट भिसाको नाममा नेपालीलाई विदेशमा लगेर नबेच। तिमीहरूको नैतिकता छ भने यसरी बेच्न पाइँदैन।’
राप्रपा सांसद कार्कीले भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकलाई विदेश जाने नेपालीबाट दैनिक एक लाख रुपैयाँसम्म लिँदा मुटु काम्दैन भनेर पनि प्रश्न गरिन्।
‘भिजिट भिसा प्रकरणमा ५० हजारदेखि लिएर एक लाख बुझ्ने सरकार, सरकारका गृहमन्त्रीको मुटु काम्दैन ?,’ उनले प्रश्न गरिन्, ‘आफ्ना दाजुभाइ–दिदीबहिनीहरूको लास देखेर तिनीहरूको मुटु काम्दैन ? कस्तो अचम्मको हो ?
कार्कीले आफूहरू भिजिट भिसा विरोध नभएको प्रष्टीकरण दिँदै राप्रपाले भिजिट भिसाका नाममा भइरहेको बेथितिको विरोधी भएको जिकिर गरिन्।
‘भिजिट भिसाको विरोधी हामीहरू होइनौँ। तर, भिजिट भिसाको नाममा नेपालीहरूलाई मार्ने, हत्या गर्ने काम जुन भएको छ, त्यसको विरोधी हौँ,’ सांसद कार्कीले भनिन्, ‘भिजिट भिसाको नाममा आज हजारौँ दिदी–बहिनीहरू घरेलु कामदारका रूपमा विदेश जान बाध्य छन्। तिनीहरू बलात्कृत भएका छन्, तिनीहरू शोषित भएका छन्, हाम्रा दाजुभाइहरू बाकसमा फर्किएर आएका छन्।’