गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ।
यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरूलाई सामान आयात गर्न सकस हुन थालेको छ। नेपाल हिमालय सिमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवागढीबाट चीनसँग हुने व्यापार विच्छेद भएपछि नाकामा अड्किएका सामान बोकेका कन्टेनरहरू अहिलेसम्म पनि अस्तव्यस्त अवस्थामा छन्।
कतिपय सामान तातोपानी नाकातर्फ पठाइएको भएपनि अहिलेसम्म नेपाल आउन नसकेको उनले बताए।
‘लत्ता कपडा, फलफूल लगायत करोडौँ रुपैयाँको सामान अहिलेसम्म पनि नाकामै रोकिएको छ। विशेष गरी तीज, दसैँ र तिहारका लागि आयात गर्न लागिएका सामानहरू नाकामै रोकिएका छन्। अबको केही दिन भित्र ती वस्तुहरूलाई नेपाल ल्याउन नसके सिजन आउट हुनुका साथै कुनै सामानहरू कुहिने, सड्ने वा बिग्रेर जाने सम्भावना रहेको छ,‘उनले भने।
विशेष गरी चीनबाट आयात हुने स्याउ, लसुन, ओखर लगायत रेडिमेड कपडाहरू आयातमा समस्या भएपछि त्यसले चाडपर्वमा यी बस्तुको मूल्य बढ्न सक्ने सम्भावना रहेको उनले बताए।
अहिले तातोपानी नाकाबाट नेपाल–चीन जोड्ने बाटोमा पनि भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोले एक सातादेखि यातायात अवरुद्ध हुँदा तातो पानीबाट हुने व्यापारिक कारोबार समेत प्रभावित भएको छ। यसले व्यवसायीहरूलाई समान आयात गर्न झनै सकस भएको छ।