नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले चीन र भारत बिच हालै भएको लिपुलेक ब्यापार मार्गको सहमति अस्वीकार्य रहेको बताएका हुन्। ‘भारत र चीनबीच भएको भनिएको सहमति अस्वीकार्य छ,’ थापाले भने।
चीन र भारत दुई छिमेकी देशले नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनु पनि आह्वान गरेका छन्।
‘भारत र चीनबीचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ। यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न,’ महामन्त्री थापाले भने, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ।’