हेटौंडामा सामाजिक काममा सक्रिय पुष्पाञ्जली आमा समूहले फटाफट नेपाल डटकममा २०८२ जेठ २७ गते प्रकाशित समाचारको खण्डन गरेको छ ।
अनलाइनमा पोष्ट भएको ‘पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित’ शिर्षकको समाचारप्रति आपत्ति जनाउँदै भत्र्सना गरेको हो ।
समाचारप्रति आपत्ति जनाउँदै समूहले प्रेस काउन्सिल नेपाल र फटाफट नेपाल डटकमलाई उजुरी एवम खण्डन पठाउँदै संस्थाले गरिरहेका सकारात्मक कामहरुको बारेमा समेत स्पष्ट पारेको छ ।
‘विगत आठ बर्षदेखि सामाजिक रुपान्तरण, महिला हिंसाविरुद्धको चेतना, लागू पदार्थ दुव्र्यसनी न्यूनीकरण, पारिवारिक मेलमिलापमा प्रभावकारी रहँदै आएको पुष्पान्जली गस्ती आमा समूह, हेटौंडा ९ हाल बागमती प्रदेश स्तरदेखि स्थानीय तहसम्म प्रशंसित र सम्मानित संस्था हो । सामाजिक न्याय, महिला शसक्तीकरण र हिंसाविरुद्ध चेतना जगाउने सक्रिय आमाहरुको यो समूहले घरेलु हिंसा तथा समाजमा व्याप्त विकृति विरुद्ध गस्ती, कानुनी सहयोग, सचेतना कार्यक्रमलगायत अनेक सकारात्मक क्रियाकलाप गर्दै आइरहेको जगजायर तथ्य हो । तर मिति २०८२ जेठ २७ गते फटाफट नेपालमा हाम्रो समूहको कपोकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित देखिएको छ । जुन आधिकारिक स्रोत, प्रमाण वा सम्बन्धित पक्षको भनाइ समेत नराखी एकतर्फी रुपमा प्रकाशित उक्त समाचारले हाम्रो समूहको प्रतिष्ठा र आमाहरुको सम्मानमा आँच पुर्याउने, सामाजिक कार्यमा बाधा पुर्याउने दुर्भाग्यपूर्ण कार्य हो । यसप्रति गम्भीर आपत्ति र घोर भत्र्सना व्यक्त गर्दछौं,’ खण्डन पत्रमा भनिएको छ ।
समूहले तत्काल समाचार हटाउन र तथ्यमा आधारित समाचार प्रकाशित गर्न आग्रह गर्दै क्षमायाचना गर्न समेत माघ गरेको छ ।