रौतहटको गौर नगरपालिका–९ मुडवलव सडकमा सुटकेसमा फेला परेको शवको पहिचान खुलेको छ।
माधवनारायण नगरपालिका–६ माधोपुर माइत भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुवि कुमारी साह सुडिको शव रहेको प्रहरीले जानकारी दिएको छ।
सुटकेस भित्र मृत फेला परेकी महिला भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिव सागर साहको श्रीमती रहेको पुष्टि भएको रौतहटका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीले बताए।
उनका अनुसार ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी रुबिकुमारी बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गरेका हुन्।
आजभन्दा २० वर्षअघि देखि नै शिव सागर माधोपुर गाउँ छाडेर स–परिवार भारतमा नै बस्दै आएको स्थानीयले बताएका छन्।
रुविको एक छोरा छन्। घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सिसिटिभी जाँच गरिरहेको छ। यस विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
