आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल गरिएको छ।
मङ्गलवार बसेको समितिको बैठकमा समिति सचिव सञ्जय दाहालले प्रतिवेदनको खाका प्रस्तुत गरेका हुन्। समितिका सचिव दाहालका अनुसार गत वर्षको अनुभव सहित यस पटक कार्यक्रम एवं योजनाहरू ल्याइएको छ।
उनले भने, ‘गत वर्षको अनुभवसहित यो वर्ष हामीले हाम्रा कार्यक्रमहरू, योजनाहरू सुधार गर्नुपर्नेछ। त्यसको समीक्षा हामी पछि गर्छौ। यो प्रतिवेदनको खाकाको सन्दर्भमा परिच्छेद १. पृष्ठभूमि, २. समिति गठन, ३. समितिको कार्यक्षेत्र काम, कर्तव्य र अधिकार, ४. समितिको कार्यविधि, ५. उपसमिति एवं कार्यदलहरूको गठन रहनेछ।’
सचिव दाहालले प्रस्तुत गरेका प्रतिवेदको खाका माथि आफ्नो धारणा राख्दै नेकपा एमालेकी सांसद सुमित्रा बिसीले परिच्छेद ४ मा रहेको समितिको कार्यविधि अन्तर्गत ४.३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनमा त्यसको उपलब्धि पनि थप्नुपर्ने सुझाव दिइन्।
‘प्रतिवेद तयार गर्नका लागि शीर्षकहरू तयार भएको छ। व्यवस्थित नै छ भन्ने लाग्छ। यो परिच्छेद ४ को ४.३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनबाट देएिका विषय भन्नेमा यसको उपलब्धि थप्न पाए अझै राम्रो हुन्थ्यो,’ उनले भनिन्।