बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने भएको छ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी,बडीपालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने भएको हो।
गरिब, अपाङ्ग, असहाय, शारीरिक अवस्थाबाट ग्रसित भएका बिरामीहरूको लागी शिविर सञ्चालन गर्न लागिएको हो। नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ हाडजोर्नी विशेषज्ञबाट उक्त शिविर सञ्चालन हुने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए।
उनका अनुसार,शिविर आगामी कार्तिक १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने बताएका छन्। निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा बहिरङ्ग (ओपिडी) शिविरमा सेवा लिन चाहने इच्छुक बिरामीहरूले समयमै सम्पर्क राखी सेवा लिन आग्रह गरिएको छ।शिविरमा नाम दर्ता तथा बिरामी चेकजाँचको लागी कार्तिक १६ गते त्यस्तै बिरामी चेकजाँच कार्तिक १७ देखि २० गतेसम्म रहने छ भने बिरामीहरूको शल्यक्रिया सेवा १७ गतेदेखि २१ गतेसम्म रहने भएको छ।
शिविरमा आगोले पोलेका,खुट्टाको पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृिजन्य समस्या,हात वा खुट्टा भाँचिएका,भाँचिई बाङ्गिएर जोडिएका,भाँचिएको ठाउँमा पाता वा किला राखिएका,गाठागुठी निकाल्नु परेका बिरामीहरूलाई सहज रूपमा सेवा प्रदान गरिने भएको छन्।
४७ औँ वर्ष देखि गैरनाफामुलक सेवा दिँदै आएको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले बाजुराका विपन्न,असहाय,विभिन्न रोगबाट ग्रसित बिरामीहरूलाई सहज रूपमा सेवा दिने नेपाल अर्थोपेडिक अस्पतालका प्रशासकीय अधिकृत धिरज मैनालीले बताए ।उपचार नपाई रहेका गरिब, असहाय, आर्थिक समस्यामा परेका नागरिकलाई उपचारमा सहज बनाउन शिविरको आयोजना गर्न लागिएको उनले बताएका छन्।
विशेषगरी दुर्गमका जिल्लामा सेवा दिँदै आइरहेको यस अस्पतालले बाजुरामा करिब ७ वर्ष अघि सेवा दिएको थियो ।त्यस बेला करिब ५५ जना बढीको अप्रेनरशन गरिएकोमा ११ सय बढिलाई ओपिडी सेवा प्रदान गरिएको थियो।बाजुराका विपन्न,असहाय,आर्थिकको अभावमा उपचार समस्यामा परेका नागरिकहरूलाई सहज रूपमा सेवा प्रदान गरी उपचारमा सहज बनाइने अपेक्षा नेपाल अर्थोपेडिक अस्पतालले लिएको छ। शिविरमा करिब १६ जनाको टाली आउने भएको हो।
शिविरलाई के–कसरी सञ्चालन गर्न सकिन्छ,कसरी प्रभावकारी बनाउने लगायत विषयमा बुधवार पूर्व तयारी सर्वपक्षीय बैठक समेत गरिएको छ। सर्वपक्षीय बैठकमा शिविर आयोजनाको मुख्य उद्देश्य, शिविरको व्यवस्थापन,प्रभावकारी लगायतका विषयमा छलफल गरिएको हो।