राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सत्तापक्षले विरोधी आवाज दमन गर्न खोजेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद ढकालले रास्वपालगायत विपक्षी राजनीतिक दलले भिजिट भीसाका आवरणमा भएको मानव तस्करी र भ्रष्टाचारविरुद्धको आवाज दमन गर्न खोजिएको आरोप लगाए।
संसद्मा विपक्षी दलको आवाज दमन गर्नका लागि सत्तापक्ष लागिरहेको सांसद ढकालको भनाइ थियो। '९५ दिनदेखि आन्दोलनरत छौं। भिजिट भिसाको नाउँमा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध आन्दोलित हुँदा सत्तापक्षले सुन्दैन। सत्तापक्षका सांसदले हामीले बोलेको दुई मिनेटका लागि यो ९५ दिन घण्टौं समय प्रतिवादमा खर्च गरिरहनुभएको छ। कर्कस, अराजक, असहिष्णु शैलीमा मित्या आरोप हामीमाथि लाइराख्नुभएको छ,' ढकालले भने, 'विरोधका आवाजलाई दमन गरेर, यो शैलीले लोकतन्त्र बलियो बन्दैन। राणा कालमा राणाहरूले विरोधीलाई झुन्ड्याइदिन्थे, गोली हान्थे, मारिदिन्थे, बच्यो राणा शासन ? यहिँ शैलीले लोकतन्त्र मजबुद हुँदैन।'
पार्टीको तर्फबाट धारणा राखेका सांसद ढकालले दलीयकरणको छाया संवैधानिक आयोगहरूमा परेको पनि बताए। उनले अख्तियार लगायतका निकाय दलीयकरणमुक्त हुनुपर्ने धारणा राखे।'दलीयकरणमार्फत कब्जा गरिएका संवैधानिक आयोगहरू २०८४ पछाडि जुरुक्क उठेर काम गर्न थाल्छन्। २०८४ मा आम जनता बोल्छन् र लोकतन्त्र बोल्छ। प्रवाशी नेपाली बोल्छन्, देश बोल्छ, तपाईंहरू बोल्ने ठाउँ हुँदैन,' उनले भने।
विपक्षीले दलले प्रतिनिधिसभाको दुई मिनेट समयमा उठाएका कुराको सत्तापक्षले खण्डन गर्नुभन्दा मागको सम्बोधन हुनुपर्ने सांसद ढकालको भनाइ थियो ।विपक्षी दलसँग सिर्जनात्मक बहस गर्न नसकेर अनेक खालका लान्छना लगाइएको पनि ढकालले बताए।