प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी, लिम्पियाधुराका सम्बन्धमा भारतसँग नै कुरा गर्नुपर्ने बताएका छन्।
नेपालका लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतीय सेनाको नियन्त्रणमा रहेको भएकाले नेपालले भारतसँग नै कुरा गर्नुपर्ने ओलीको भनाइ थियो।
एमालेको दोस्रो विधान महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै ओलीले कालापानी क्षेत्रको सीमा विवादबारे भारतसँग कुरा गर्ने बताएका हुन्। 'हामी भारतसँग पनि कुरा गर्नेछौं, यो समस्याको समाधान गर्नुपर्ने त भारतसँग नै हो,’ लिपुलेक भएर चीन र भारतबीच व्यापार गर्नेबारे भएको सम्झौताबारे चीनका राष्ट्रपति सी चिनफिङको कुरा उल्लेख गर्दै ओलीले भनेका हुन्।
चीनका राष्ट्रपति सीले कालापानी क्षेत्रको विवाद नेपाल र भारतबीचको भएको बताएको पनि ओलीले उल्लेख गरेका छन्। 'चिनियाँ राष्ट्रपतिले हामी नेपालको सार्वभौमसत्ताको पूरा सम्मान गर्छौं। यसबाट तपाईंहरूलाई जुन आशंका रहेको छ, यसमा हाम्रो ध्यान छ। तपाईंहरूको राष्ट्रको सार्वभौमसत्तामा तलमाथि पर्ने छैन, 'चिनियाँ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै ओलीले भने, 'त्यसमा हामी सम्पूर्ण रुपमा समर्थन गछौं। यो सिमानाको विषय नेपाल र भारतको विषय हो। तपाईंहरूले वार्ताद्वारा कूटनीतिक माध्यमबाट समाधान गर्नुहुन्छ भन्ने हामीले विश्वास गरेका छौं।' ओलीले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको बताए।




















