सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर-बबरमहल सडक प्रभावित भएको छ।

माइतीघर-बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन्। सडकमा जेनजीहरु छपक्कै भएपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो।

अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ। आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए। उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो।

भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन्।

जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन्।