नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन्।
मङ्गलवार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजनिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने बताएका हुन्। उनले भने, ‘हामी सेवा दिन तयार छौँ, सुरक्षाको कुरा क्लियर हुनुपर्छ। सरकारलाई अनुरोध गर्दछु जलेकै ठाउँबाट सेवा दिनुपर्छ। चाडपर्वको समयमा जनताको ध्यान सार्वजनिक यातायात क्षेत्रमा नै हुन्छ। त्यस कारण गाडी आवतजावत गर्ने सहज वातावरण बनाउनुपर्छ।’
उनले सडक विभाग मुग्लिङका खाल्डाखुल्डी पुर्न जानुपर्ने भन्दै दाउन्नेमा केही हेभी इक्युमेन्ट राख्नुपर्ने सुझाव दिए। उनले चाडपर्वको समयमा सार्वजनिक यातायातका टिकट काट्न गाह्रो हुने भन्दै अहिले घर जान मिल्नेहरू गइहाल्न अनुरोध गरे। ‘हामी संयमित र जिम्मेवार छौँ। हामीले विषम परिस्थितिमा पार लगाएका छौँ। यस पटक पनि पार लगाउँछौ। यति बेला गाडीहरू खाली छन्। काम नभएका आन्दोलनबाट प्रभावित भएका जान मिल्नेहरू अहिले गइदिनुहोला भन्न चाहन्छु,’ उनले भने।