बागमती प्रदेश सभा सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।
जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग भएको र राष्ट्र रोइरहेको बेला पदमा बस्नु अनुचित भएकाले आफूले राजीनामा दिएको उनको तर्क छ ।
पाठकले उपसभामुखलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा भनिएको छ– 'गत भाद्र २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको जेनजीको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेपछि म अत्यन्त भावविह्वल भएँ। राष्ट्र रोइरहेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरआत्माले महसुस गरेँ।'
आफूले भाद्र २४ गते नै सामाजिक सञ्जालमार्फत पदत्याग गर्ने घोषणा गरे पनि प्राविधिक कारणले तत्काल कानूनी प्रक्रिया पूरा गर्न नसकेको स्पष्ट पारेका छन्।
'आज नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिएको छु,' पाठकले भनेका छन्।
पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता हुन्।
