अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।
त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन्।
‘शान्ति तथा स्थिरता कायम गर्न उहाँले गरिरहेको प्रयासप्रति भारतको अटल समर्थन पुनः व्यक्त गरेँ,’ उनले लेखेका छन्।
यसअघि सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै मोदीले बधाई दिइसकेका थिए। आज भने टेलिफोन वार्ता भएको हो। कुराकानी आत्मीय भएको मोदीले उल्लेख गरेका छन्।
मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारमा समवेदना पनि प्रकट गरेका थिए।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग आत्मीय कुराकानी भयो । हालैको दुस्खद घटनामा ज्यान गुमाउनेप्रति हार्दिक समवेदना व्यक्त गरेँ,’ मोदीले लेखेका छन्।

उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका छन्।