बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनको सिलसिलामा भएका त्रुटि र कमीकमजोरीलाई संविधानको दोष दिनु नहुने बताएका छन्। उनले संविधान कार्यान्वयनमा भएका कमजोरीलाई दलहरूले स्वीकार गर्नुपर्ने र त्यसको जिम्मेवारी लिन सक्नुपर्ने बताए।
संविधान दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले आफ्नो अनुहारमा लागेको धुलो मैलो पुछ्नुको सट्टा ऐना पुछ्नुले आफ्नो गल्ती नचिनिने टिप्पणी गरे। उनले जनताको अभूतपूर्व बलिदानबाट प्राप्त संविधान कानुनी दस्ताबेज मात्र नभएर जनभावना प्रस्फुटन गर्ने सजीव प्राणी सरह भएको उल्लेख गरे। प्रदेश प्रमुख देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता र मौलिक अधिकारहरूको सुनिश्चिततालाई आत्मसात् गरेको वर्तमान संविधान न्यायपूर्ण र समतामूलक समाज, राष्ट्रिय अखण्डता र एकताको पहरेदार भएको बताए।
‘कार्यान्वयनको सिलसिलामा हामीले गरेका त्रुटि र कमीकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन।’ उनले भने, ‘हामीले आफ्नो अनुहारमा धुलो मैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो। गल्तीहरू बारम्बार दोहोर्याउनु मूर्खता सिवाय अरू केही होइन।’
वर्तमान संविधानको परिधिभित्र रहेर नै विकास, समृद्धि, सुशासन, र युवा पुस्ताको चासो र चाहनालाई साकार पार्न सकिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ। संविधानको सर्वोच्चता न्यायमूलक समाजको अपरिहार्यता भएकोमा जोड दिँदै उनले कानुनी राज्यको उपहास हुने क्रियाकलाप कसैले गर्न नहुने बताए।
प्रदेश प्रमुख देवकोटाले स्वाभिमान र स्वाधीनतामा कहीँ कसैसँग सम्झौता गर्न नहुने दाबी गरे। समारोहमा उपस्थित सबैलाई आ–आफ्नो तह र तप्काबाट सुशासन, पारदर्शिता, मितव्ययिता र जबाफदेहितालाई शिरोपर गरेर आम जनताले प्रत्यक्ष महसुस गर्ने गरी परिणाममुखी कार्यहरूमा जोड दिन उनले आग्रह गरे।