देशभर भ्रष्टाचार, बढ्दो महंगी, बेरोजगारी तथा आधारभूत आवश्यकता पूरा गर्न राज्य असफल भएको आरोपसहित भदौ २३ गतेदेखि सुरु भएको Gen Z युवाको आन्दोलन बेलबारीमा पनि प्रत्यक्ष प्रभाव पारेको छ।


शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बेलबारी नगरपालिका–आधारित Gen Z समूहले आन्दोलनको क्रममा सरकारको दमनका कारण देशभर दर्जनौं युवाले ज्यान गुमाएको र सयौं घाइते भएको भन्दै गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।


बेलबारीमा भदौ २३ र २४ गते शान्तिपूर्ण आन्दोलन गरिएको तर २४ गते बिहान ११ बजे सुरु भई दिउँसो १ बजे स्थगन गरिएको समूहले जनाएको छ। आन्दोलन स्थगनबारे प्रहरी प्रशासनलाई जानकारी दिइसकेर आफूहरू फर्किएपछि, केही अराजक समूह प्रवेश गरी सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीजस्ता अपराधिक कार्य गरेको भन्दै त्यसमा आफ्नो संलग्नता नरहेको Gen Z ले स्पष्ट पारेको छ।


प्रेस विज्ञप्तिमा बेलबारी नगरपालिकाको सम्पत्ति तोडफोड गर्ने समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ। साथै, आन्दोलनकै क्रममा नगरपालिकाका केही जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको घटनाप्रति समूहले असहमति जनाउँदै, दबाबमा नपरी सेवामा फर्कन आग्रह गरिएको छ।


“यदि साँच्चिकै राजीनामा दिन चाहने हो भने आधिकारिक प्रक्रिया पूरा गरेर सहज बनाउनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।