ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङज्यूले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन्।

अनुगमन क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरे।

छलफलमा मन्त्री घिसिङले चाडपर्व ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमन सहज बनाउन निर्देशन दिए।

आयोजना तर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्णरूपमा परिचालन गर्न तथा चालु आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न आग्रह गरे।

हालसम्म सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ। यस अन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ।

साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत प्रगति भएको छ। आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ। टेवा पर्खाल तथा नाली निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।

करिब १ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ। तर, सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभाव लगायत कारण आयोजना निर्माण कार्य प्रभावित भएको आयोजनाले जनाएको छ।

बजेट अभाव हुन नदिन आवश्यक पहल गर्ने मन्त्री घिसिङले बताए। सडक विभागका महानिर्देशक डा। विजय जैसीका अनुसार आयोजनाका लागि चालु आव करिब ३ अर्ब बजेट आवश्यक पर्नेमा ५० करोड मात्र विनियोजन गरिएको छ।