नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारीसाधनको बिक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन्। मंगलबार (असोज ७) काठमाडौंमा आयोजित ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले दसैँतिहारलगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋणसम्बन्धी नीतिमा फेरबदल गर्न आग्रह गरेका हुन्।

राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने उनले माग गरे।

नेपाल राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था छ। विद्युतीय गाडी (ईभी) मा यसअघि ८० र पेट्रोल तथा डिजेलजन्य इन्धनबाट चल्ने गाडीमा ५० प्रतिशत ऋण लिन सक्ने व्यवस्था थियो। अटो व्यवसायीले ऋण ८० प्रतिशत पुर्‍याउन माग गर्दै आएका छन्।

“आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ। अहिलेको सबैभन्दा ठूलो चूनौती राजस्व संकलन देख्छु,” उनले भने, “अटो क्षेत्रले सबैभन्दा बढी राजस्वमा योगदान दिँदै आएको थियो। दसैँको समयमा कुल अटो बजारको ६० प्रतिशत बिक्री हुने गरेकोमा आन्दोलनले घट्दा राजस्व पनि घट्छ।”

चौधरीले थपे, “गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छ। राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनुपर्नेछ।”

आन्दोलनका कारण अटो हब रहेको थापाथलीमा पूर्ण रूपमा क्षति पुगेको उनले बताए। हाल केरुङ र तातोपानी नाकाबाट गाडी ल्याउन सकिने अवस्था नरहेको उनले उल्लेख गरे। “कोरला नाकाबाट केही गाडी आएका छन्, तर पानी पर्नेबित्तिकै रोकिन्छ। सडकको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्छ,” उनले भने।