ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार झापाको १४ वर्षदेखि अलपत्र रहेको कन्काई पुलको स्थलगत निरीक्षण गरेका छन्।
हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको निरीक्षण गरी मन्त्री घिसिङले पुल निर्माणको प्रगति र स्थानीय जनजीवनमा पर्ने प्रभावबारे जानकारी लिएका थिए। करिब ७२३ मिटर लम्बाइको यो पुल वर्ष २०६७र६८ मा ५१ करोड रुपैयाँको ठेक्का सम्झौतामा सुरु भएको, तर हालसम्म करिब ५५ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ।
मन्त्री घिसिङले भने, “पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने वा निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे छिट्टै ठोस निर्णय लिनेछौं। जनजीवनसँग जोडिएको रणनीतिक महत्वको यो पुल यथास्थितिमा राख्न सकिँदैन।”
उनले स्थानीय बासिन्दाका समस्याहरू, व्यापार र पर्यटनमा पर्ने असरलाई पनि औँल्याउँदै निर्माण काम तत्काल पूरा गर्न आवश्यक रहेको बताए। निरीक्षणमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, झापाका प्रमुख जिल्ला अधिकारी लगायतको टोली पनि सहभागी थियो।
कुलमानको निरीक्षणपछि अब पुल निर्माणको भविष्य र ठेक्का सम्बन्धी निर्णय छिट्टै सार्वजनिक हुने अपेक्षा गरिएको छ।