नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुनुपर्ने माग गरेको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चुनावभन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने जनाएको हो।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पार्टीमा रहेका युवाहरूको भावनालाई बुझ्दै निर्वाचनअघि महाधिवेशन गरेर पार्टीलाई शुद्धिकरणतर्फ अघि बढाउन माग गरे।
उनले पार्टीलाई भ्रष्टाचार र बेतिथिबाट मुक्त गर्दै सुशासनयुक्त र पारदर्शी बनाउने उद्धेश्यसहित पार्टीका सबै तहमा बसेका व्यक्तिको सम्पत्तिको अद्यावधिक विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति बनाउन पनि भनेका छन्।
जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेथितिविरुद्धको आवाजलाई संस्थागत अभियानका रुपमा अघि बढाइने उनले बताए।
अध्यक्ष शेर्पाले जेनजी आन्दोलनका क्रममा भएका घटनामा पूर्वप्रधानमन्त्री र गृहमन्त्री छानबिनमा दोषी देखिए कारबाही हुनुपर्ने बताए।

उनले काठमाडौं महानगर प्रमुख बालेन साहमाथि पनि छानबिन गरि दोषि देखि कारबाही गर्नुपर्ने बताए।
उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरे।
नेविसंघले देशको शान्ति सुरक्षा र स्थायीत्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रहरूको मनोबल बढाउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।