नेकपा (एमाले) का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'माथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बस्नेतले प्रचण्डसहित रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन्।
जेनजी आन्दोलनमा उनीहरूको भूमिका शंकास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।
बस्नेतले जेनजी आन्दोलनलाई हस्तक्षेप गर्दै आपराधिक गतिविधि भएको जिकिर गरे। मुलुकको राष्ट्रिय स्वाधीनताका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिकाका कारण आफूहरूमाथि सबैभन्दा बढी आक्रमण भएको उनले बताए।
सरकारले राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचारको अभियोग लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र उनको आरोप छ। त्यसविरुद्ध सडक संघर्ष गर्नुपर्नेमा आफूले जोड दिएको उनले बताए।
पार्टीभित्र एकताको आवश्यक रहेको र अध्यक्ष केपी ओलीको विकल्प खोज्न नहुने आफूले धारणा राखेको उनले बताए।