नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि भेषावकरले सन्यास लिएका हुन्।
भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो। आइतबार भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको थियो। योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समाप्त गरेको छ।
सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट शरदले आफ्नो खेल जीवनको सुरुवात गरेका थिए। नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीका उनी सदस्य थिए। 
नेपाली राष्ट्रिय टोलीबाट उनले ‘डेब्यु’ भने २००४ मा यूएईमा गरेका थिए। प्रथम श्रेणीको मान्यता प्राप्त अन्तर महादेशीय कप तीनदेशीय प्रतियोगिताको यूएईसँग शारजहाँमा दोस्रो इनिङ्समा अविजित अर्धशतक बनाउँदै शरदले सानदार ‘डेब्यु’ गरेका थिए।
यूएईमै २०१३ मा भएको आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट थियो, जहाँ उनले उत्कृष्ट फिनिसरको भूमिका निभाउँदै नेपाललाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा डोर्‍याएका थिए। शरदले २०२१ मा पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय र २०२२ मा पछिल्लो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए।