बेलबारी, मोरङ । कथाकार ईरान राईको कथासङ्ग्रह ‘चुडेल्नी’को परिचर्चा बेलबारीमा सम्पन्न गरियो। 

‘चुडेल्नी’ कथासङ्ग्रहको शीर्षक कथा ‘चुडेल्नी’को परिचर्चा गर्दै बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले साहुले जाल गरेर बढाएको ऋण चाँडै चुक्ता गराउन चुडेल्नी बनाइएकी पात्र हो मनिषा जो एक सामन्तको आर्थिक, मनोवैज्ञानिक र शारीरिक शोषणमा पर्दछे। मनिषालाई सजाय दिनुको साटो नायक पात्र मोदनाथले सहानुभूति राख्नु मानवीय संवेदनाको उपल्लो नमुना भएको बताइन्। 

‘प्रेतात्मा’ कथामा विज्ञान वा चिकित्साशास्त्रले प्रेतात्मा हुँदैन भनेर प्रेतात्माको अस्तित्व अस्वीकार गरेको कुरा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले बताए। 

लैङ्गिक विभेदका रूपमा पनि ‘बोक्सी’ शब्दलाई लिनुपर्दछ किनकि पुरुषलाई खराब देखाउने शब्द 'बोक्सो' भन्ने शब्द हत्तपत्त भेटिँदैन। संविधान सभाको महिला तथा बालबालिका समितिमा पनि बोक्सी मात्रै राख्ने कि बोक्सो पनि राख्ने भन्ने लामो छलफल भएको थियो। राजनैतिक, आर्थिक, सामाजिक र शारीरिक रूपमा कमजोर महिलाहरूलाई मात्र बोक्सी भनेर दुव्र्यवहार गर्ने, विभेद गर्ने र दिसापिसाब खुवाउने जस्ता घृणित कुकार्यलाई कथाले प्रस्ट पारेको छ। कथाले बोक्सी हुँदैन भन्ने निष्कर्ष ‘बोक्सी’ कथाले दिएको संविधान सभा सदस्यसमेत रहेकी परिचर्चाकार मधु गुरुङ (रत्नदेवी)ले बताइन्। 

उचित पात्र चयनका साथ ‘मुर्कुटा’ कथाले सशस्त्र द्वन्द्वको चित्र गर्दै भूतप्रोत, मुर्कुटा भन्ने कुराहरू चाहिँ एउटा प्राकृतिक र भ्रम मात्र हो भनेर अन्धविश्वासलाई चिरेको परिचर्चाकार स्रष्टा समाज, बेलबारीका अध्यक्ष जे.बी. थुलुङले बताए।  

प्रहरी सङ्गठनभित्र पनि कसैकसैले पदको दुरूपयोग गर्ने गरेको, प्रहरी सङ्गठनलाई नै बदनाम पार्ने किसिमका बिकृति/बिुङ्गतिलाई बढावा दिएको र एउटी सुनदर नारीप्रति कतिपय पुरुषहरूको मनोविज्ञान र व्यवहार कति घृणित हुन्छ भन्ने तथ्य ‘बोक्सो कथाले छर्लङ्ग पारेको परिचर्चाकार प्रलेस केन्द्रीय सदस्य तिला लेकालिले बताइन्। 

स्नातकोत्तर पढेका शिक्षितहरूले पनि महिलाहरूलाई विभेद गरेको उदाहरण दिँदै विशेष गरी अशिक्षित र कमजोर महिलाहरूलाई होच्याउने विभेदपूर्ण विभिन्न नामहरू दिएर कमजोर बनाउने समाजमा विद्यमान कुरीतिलाई ‘डाइनी’ कथाले उजागर गरेको परिचर्चाकार कोसी साहित्य–कला परिषद् नेपाल’का अध्यक्ष केशु विरहीले बताए।

गणतन्त्रमा पनि महिलाहरूलाई उपप्रमुख, उपाध्यक्ष मात्रै बनाउनुपर्छ भन्ने व्यङ्ग्यसमेत गर्दै स-साना कुराहरूलाई पनि पालिकाको न्यायिक समितिमा लानुपर्ने, शक्ति हुने त्यस्ता मुद्दाहरूमा आफ्नो पक्षमा फैसला गराउन धेरै समर्थकहरूलाई भेला गराउने अमर्यादित मानसिकताको विपक्षमा ‘डङ्किनी’ कथा उभिएको परिचर्चाकार बेलबारी साहित्य विकास समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले बताइन्।

दलित समुदायको झले कामी गरिब थियो तर परिश्रमी थियो, इमानदार थियो। उसले राति राति पहाडको एउटा थुम्को सम्यायो र उर्वर खेत बनाएर धान उमा¥यो। गाउँलेको दिमागमा भूतले सम्याएको जमिन नभएर झले कामीले सम्याएको सन्देश दिएर कथाकारले एकातिर भूतप्रेत हुँदैन भनेका छन् भने अर्कातिर श्रम–संस्कृतिको उदाहरण दिएर प्रगतिशील लेखनको धार पकडेको परिचर्चाकार बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुलीले बताए।

म पनि तराईका आदिवासी धिमाल समुदायसँगै बस्दै आइरहेकी छु, उनीहरू अति सोझा हुन्छन्। पहिला पहिला एक जना पहाडे समुदायका किशोरले दश–पन्ध्र जना धिमाल केटाहरूलाई भगाउने गर्ने भनेर धिमाल समुदायको सोझोपनाको उदाहरणसहित बाल्यकाल सम्झँदै एउटी धेरै मेहनती, सहयोगी भावनाकी, परोपकारी र दरीखरी तोइका नामकी धिमालनी पात्रमार्फत सर्वसाधारण मानिसहरूमा अहिले पनि अन्धविश्वास रहेकोले अन्धविश्वासलाई हटाउनुपर्ने सन्देश ‘राक्षसनी’ कथाले दिएको परिचर्चाकार बेलबारी प्रज्ञा–प्रतिष्ठानकी सदस्य निरू गौतमले बताइन्।

‘किचकन्नी’ कथाले किचकन्नी, चुडेल्नी जस्ता कुराहरू मनगढन्ते चिन्ता मात्र रहेको, यथार्थमा ती चिजहरू नरहेको परिचर्चाकार कण लघुकथा मञ्च, कोसी प्रदेशका अध्यक्ष दीप मङ्ग्रातीले बताए।

कथाकार ईरान राईले बेलबारीका साहित्यकारहरू पनि परिचर्चा, समीक्षा गर्न सक्ने अवस्थामा पाइला हालेकोमा धन्यवाद र शुभकामना दिँदै भूत, चुडेल्नी, प्रेतात्मा जस्ता चिजहरू देखिने, भेटिने तर तिनीहरूको अस्तित्व नरहेको जिकिर गर्दै ती चिजहरू मुख्यतया चार कारणले देखिने÷भेटिने बताए। चार कारणहरूमा पहिलो बनेका वा बनाइएका, दोस्रो कुनै निश्चित स्थानमा प्रकृतिको विशेष बनोटका कारण जस्तै एउटा खोलामा चुडेल्नी देखिने तर अर्को खोलामा नदेखिने, तेस्रो दृष्टिभ्रम र मानसिक अन्यौलता (पारेइडोलिया) जस्तै टुकटुके मिलको आवाज चार जना बेग्लाबेग्लै कुरा सोचिरहेकाहरूले बेग्लाबेग्लै कुरा सुन्नु, अर्थात् एउटै आवाजलाई एउटाले क, ख, ग, घ सुन्नु, अर्कोले त्यही आवाजलाई ए, बी, सी, डी, तेस्रोले वान्, टु, थ्री, फो र चौथोले एक, दुई, तीन, चार सुन्नु, एवम् चौथो कारणचाहिँ परमाणुमा भएको इलेक्ट्रोनले हाम्रा सबै श्रव्य–दृश्य खिचिरहेको हुन्छ र कुनै उपयुक्त वातावरण मिलेमा प्रकृतिले ती दृश्य या आवाजलाई हामीले देख्छौँ, सुन्छौँ। 

कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता र सचिव उमा सिजापतीको सञ्चालनमा सुदर्शन रिसोर्ट, बेलबारी–२, लालभित्तीमा सम्पन्न भएको थियो। 

2