राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सो माग गरेका हुन्।

उनले भने, ‘करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ? सचिवलाई पनि थाहा हुँदैन। अर्थमन्त्री र अर्थमन्त्रीज्यूले तोकेका व्यक्तिहरुलाई मात्रै थाहा हुन्छ। सूचना लिक भएर ७५३ वटा बीवाइडी गाडी केरलाबाट १४ गते भन्सार पास हुन्छन्, २० गते गाडी आउँछ। अनि सरकारले छानविन समिति बनाउँछ। आफैं छानविन समिति बनाउने र कर्मचारीलाई डाम्न खोज्ने ?’

संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने शाहीले बताए।

करका दर चुहावट गर्नेलाई राजद्रोहको मुद्दा चल्नुपर्ने शाहीको भनाइ छ। उनले यसका विषयमा सरकारले नभई संसदले छानबिन समिति बनाउनुपर्ने बताए। सुशासनको माग गरेर आएको सरकारले कुशासनको बाटो नलिन उनले चेतावनी दिए।

उनले भने, ‘बजेट बन्दाखेरि बजेटका करका दर हेरफेर गर्ने र कर कति हुन्छ भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदी त्यस्तो अपराध गरेको ठहरिएमा राजद्रोहको मुद्दा चल्ने नेपालका कानुनी व्यवस्था छ।’