मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरू आमने सामने भएका छन्।
मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दल गत सोमबारदेखि निरन्तर धर्नामा बसिरहेका बेला एमाले पनि मुख्यमन्त्रीको समर्थनमा उत्रिएको हो।
आज एमालेका नेता, कार्यकर्ताले जनकपुरको जनकचोक मन्दिर परिसरमा मुख्यमन्त्री यादवको नियुक्तिको समर्थनमा धर्ना दिएका छन्।
उनीहरूले संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिऊँ भन्ने नारासहित धर्ना दिएका हुन्।
यता मधेश भवन अगाडि आज पनि सात दलीय गठबन्धनका प्रदेश सांसदहरु धर्ना बसिरहेका छन्।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले २४ कात्तिकमा दलहरुलाई छलेर एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्ति दिएर होटलमै शपथ खुवाएपछि मधेश अशान्त छ।




















