नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पार्टीभित्रको गुट–उपगुटको राजनीति संगठनका लागि घातक रहेको बताएका छन्। सुन्दरहरैँचामा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आन्तरिक चुनाव सकिएपछि पनि ‘प्यानल’ को मानसिकता बोकेर हिँड्ने प्रवृत्ति लोकतान्त्रिक हुन नसक्ने जिकिर गरे।
सभापति लिम्बुले निर्वाचनमा विचारको प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसैलाई आधार बनाएर सधैंभरि कित्ताकाट गरिनु दुर्भाग्यपूर्ण रहेको बताए। उनले भने, ‘चुनाव त प्रतिस्पर्धाका लागि हो, तर परिणाम आइसकेपछि पनि गुटकै नाममा मानिसलाई होच्याउने, छेक्ने र बदनाम गर्ने काम लोकतान्त्रिक संस्कार होइन।’
उनले टिम वा गुटमा नपरेकै कारण पार्टीमा लामो समय योगदान गरेका कार्यकर्ताको अवमूल्यन गर्ने प्रवृत्ति रोकिनुपर्नेमा जोड दिए । ‘गुटको चस्माले हेर्दा योगदान नै नदेख्ने र आफ्नालाई मात्र काखी च्याप्ने हो भने कांग्रेस बलियो हुँदैन,ू लिम्बुले चेतावनी दिए, ूसबैलाई समेटेर, सहिष्णुता र सहकार्यबाट मात्र पार्टी चल्छ।’
मुलुकमा निर्वाचन हुने वा नहुने भन्ने विषयमा जनमानसमा अन्योल छाएको स्वीकार गर्दै सभापति लिम्बुले कांग्रेस भने आन्तरिक तयारीमा जुटिसकेको बताए। उनले भने, ‘बाहिर जस्तो हल्ला भए पनि कांग्रेसले निर्वाचनलाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिएको छ। हामी प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा निर्वाचनको रणनीतिक तयारीमा छौं।’
उनले निर्वाचन सफल बनाउन ब्युरोक्रेसी र सुरक्षा संयन्त्रको भूमिका निर्णायक हुने बताउँदै सरकारले कर्मचारी संयन्त्रलाई विश्वासमा लिएर पूर्वतयारी गर्नुपर्ने औंल्याए।
पार्टीको आन्तरिक जीवनबारे चर्चा गर्दै लिम्बुले सदस्यता नवीकरण र वितरणको काम जारी रहेको जानकारी दिए। उनले आगामी अधिवेशनबाट आउने नयाँ नेतृत्वले पार्टीमा उत्साह र ऊर्जा थप्ने विश्वास व्यक्त गरे। ‘नयाँ नेतृत्व आएपछि कार्यकर्तामा उत्साह थपिन्छ, जसको सकारात्मक प्रभाव आम निर्वाचनमा देखिन्छ,’उनले भने।
अन्तरक्रियामा उनले सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाहरूको डटेर सामना गर्न र सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह समेत गरे। कार्यक्रममा स्थानीय पत्रकार, कांग्रेस नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो




















