विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा संस्थापन पक्षबाट नै उम्मेदवार बन्दा पनि गुरु बराल उपाध्यक्ष पदमा पराजित भएका छन् । सुवास नेम्वाङको निधनपछि अध्यक्ष केपी शर्मा ओलीले रिक्त पदमा मनोनित गरेका बरालले महाधिवेशनमा अनुमोदन हुन खोज्दा १ हजार १ सय ३७ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ ,विष्णु प्रसाद पौडेल रामबहादुर थापा ‘बादल’ गोकर्ण राज विष्ट रघुजी पन्त विजयी भएका छन् । अर्का गुटका गोकर्ण राज विष्ट निर्वाचित हुँदा विष्ट भने पराजित बने ।

अध्यक्ष ओलीको विश्वासपात्र र ‘कोर टिम’ का सदस्य मानिने बरालको यो पराजयले उनको राजनीतिक यात्रामा अर्को धक्का लागेको छ । पार्टीको आन्तरिक समीकरण र मनोनयनमा सधैं बाजी मार्दै आएका बराल जनताबाट अनुमोदित हुने प्रत्यक्ष चुनावमा जस्तै यसपटक पार्टीभित्रको चुनावमा पनि ‘अभागी’ सावित भएका छन् ।

२०३० सालदेखि राजनीतिमा सक्रिय र एमालेको वैचारिक नेता मानिने बरालको चुनावी रेकर्ड हेर्दा उनले २०५१ सालयता कुनै पनि चुनाव जित्न सकेका छैनन् । २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनु नै उनको संसदीय राजनीतिको अन्तिम जित थियो । त्यसयता उनले पाँचवटा संसदीय चुनाव लडे, तर नतिजा सधैं निराशाजनक रह्यो । २०५६ सालमा सोही क्षेत्रबाट पराजित भएका बराल २०६४ को पहिलो संविधानसभामा माओवादीका गोपी अछामीसँग र २०७० को दोस्रो संविधानसभामा कांग्रेसका िदलीप गच्छदारसँग पराजित हुन पुगे । जनताबाट प्रत्यक्ष भोट माग्दा बारम्बार अस्वीकृत भएपछि बरालले सुरक्षित ठानिएको राष्ट्रियसभाको बाटो रोजेका थिए । तर, २०७८ माघ १२ मा भएको राष्ट्रियसभा निर्वाचनमा मत बराबर भएपछि गोला तान्दा उनी झापाका गोपाल बस्नेतसँग पराजित भए ।

आमचुनाव र जनताको परीक्षणमा सधैं असफल हुँदै आएका बरालको पार्टीभित्रको चुनावी इतिहास पनि उतारचढावपूर्ण छ । २०४४ सालमा नेकपा माले मोरङको सचिव र २०४६ पछि एमाले मोरङको सचिव भएका उनी २०४९ मा सम्पन्न पाँचौं महाधिवेशन र २०५४ मा नेपालगन्जमा भएको छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर, २०५९ मा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनमा उनी सुनसरीका भीम आचार्यसँग पराजित हुन पुगे । रोचक कुरा के छ भने, त्यतिबेला पनि चुनाव हारेपछि उनी मनोनयनकै बलमा केन्द्रीय कमिटीमा आएका थिए । ओलीलेनै बराललाई केन्द्रीय सदस्यमा मनोनित गराएका थिए ।

बरालले २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा भीम आचार्यलाई हराएर बदला लिए पनि नवौं महाधिवेशनमा आचार्यले सचिव जित्दा बरालको भूमिका खुम्चियो । २०७८ मा चितवनमा भएको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै स्थायी कमिटी र पछि उपाध्यक्षमा मनोनित भएका बराल ११ औं महाधिवेशनमा आइपुग्दा भने आफ्नै कार्यकर्ताबाट अस्वीकृत भए । मदन भण्डारी स्मृति प्रतिष्ठानमार्फत ओलीलाई गुट निर्माणमा सुरुवाती दिनदेखि साथ दिएका कारण उनी ओली निकट मानिन्छन् । मोरङमा विनोद ढकालले ओलीको निर्देशन विपरित कदम चालेपछि बराल थप शक्तिशाली बनेर उदाएका थिए । तर, कहिले राष्ट्रपतिको चर्चा, कहिले बागमती इन्चार्ज त कहिले उपाध्यक्षसम्मको यात्रा तय गर्दा उनको मुख्य योग्यता ‘चुनाव जित्ने’ नभई ‘अध्यक्षलाई रिझाउने’ क्षमता नै देखिएको एमालेकै नेताहर बताउछन् । लामो समयदेखि जनमतबाट तिरस्कृत हुँदै आएका बराल यसपटक भने आफ्नै पार्टी पङ्क्तिबाट पनि नराम्ररी पछारिएका छन् ।