विराटनगर । नेकपा (एमाले) को ११औं महाधिवेशन कोशी प्रदेश सरकारको नेतृत्वका लागि भने मिश्रित नतिजा लिएर आएको छ। कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पार्टीको माथिल्लो ओहोदामा निर्वाचित हुँदा उनकै मन्त्रिपरिषद्का प्रभावशाली मन्त्री भने केन्द्रीय सदस्यमै पराजित भएका छन्।

महाधिवेशनको अन्तिम मतपरिणाम अनुसार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की एमालेको केन्द्रीय पदाधिकारी ९सचिव० मा निर्वाचित भएका छन्। कार्कीले सचिव पदमा जित हासिल गर्दै पार्टीको माथिल्लो तहमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। तर, कार्की नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले भने नमिठो पराजय व्यहोर्नुपरेको छ।

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका मन्त्री भण्डारीले जम्मा ६२९ मत मात्र प्राप्त गरे। रोचक कुरा के छ भने, निर्वाचित मुख्यमन्त्री कार्की र पराजित मन्त्री भण्डारी दुवै जना अध्यक्षमा निर्वाचित केपी शर्मा ओली निकटका नेता मानिन्छन्। दुवै नेता संस्थापन पक्षका भए पनि चुनावी नतिजा भने ठीक विपरीत आएको छ।

सुनसरी एमालेका पूर्वअध्यक्ष समेत रहेका भण्डारी ओली निकट मानिए पनि अध्यक्ष ओलीको ुकोर टिमु वा आधिकारिक प्यानलमा पर्न सकेका थिएनन्। ओली निकट मानिए पनि नेतृत्वको आधिकारिक रोजाइ ९प्यानल० मा नसमेटिनु नै बहालवाला मन्त्री भण्डारीको हारको मुख्य कारण बनेको देखिन्छ।