एकमात्र Gen Z र युवामैत्री राजनीतिक दलका रूपमा आफूलाई चिनाउँदै आएको राष्ट्रिय परिवर्तन पार्टी ले मोरङ जिल्लाको औपचारिक घोषणा सभा भोलि पुस ७ गते  सोमबार आयोजना गर्ने भएको छ। उक्त घोषणा सभा बेलबारी बजारस्थित पुरानो मालपोत कार्यालय प्राङ्गण मा हुने जनाइएको छ।

सहिद तथा घाइते परिवारको बलिदान र पीडाबाट प्रेरित भई गठन भएको पार्टीको यस घोषणा सभामा Gen Z आन्दोलनका क्रममा एक खुट्टा गुमाएका  पार्टी अध्यक्ष राजेश प्रोटेल को विशेष उपस्थिती रहनेछ। साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय सहभागिता रहने आयोजकले जनाएको छ।

घोषणा सभाका विशेष अतिथि का रूपमा पूर्व प्रहरी महानिरीक्षक (IGP) सर्वेन्द्र खनाल, भोजपुर समन्वय समितिका अध्यक्ष कमल थुलुङ (राई) तथा पूर्व महासेनानी माधव सुन्दर खड्का रहनेछन्। यसका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा समाजसेवीहरूको समेत सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा राष्ट्रिय परिवर्तन पार्टीको मोरङ जिल्ला औपचारिक घोषणा, जिल्लास्तरीय उम्मेदवारहरूको सार्वजनिक घोषणा, “देश कसरी बनाउने?” भन्ने विषयमा स्पष्ट योजना तथा दृष्टिकोण प्रस्तुत गरिनेछ। साथै Gen Z युवाहरूबाट गर्जनशील र सगर्व भाषण, तथा सहिद र घाइते परिवारप्रति सम्मान समर्पण समेत गरिने कार्यक्रम रहेको पार्टीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

आयोजकका अनुसार Gen Z आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन्। “देश जलेको छ, अब पनि मौन बस्न हुँदैन” भन्ने सन्देशसहित पार्टीले परिवर्तनका लागि एकताबद्ध हुन आह्वान गरेको छ।