सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा आगामी पुष १७ गतेदेखि ‘दोस्रो उप–मेयर कप अन्तर–पालिका स्तरिय महिला भलिबल प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। सिद्धार्थ युवा समाज क्लव, सुन्दरहरैंचा–६ को आयोजना र सुन्दरहरैंचा नगरपालिका खेलकुद विकास समितिको मुख्य सहयोगमा यो प्रतियोगिता हुन लागेको हो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिता सुन्दरहरैंचा–७ स्थित गछिया खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता पुष १७ गतेदेखि १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख २५ हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, द्वितीय हुने टिमलाई नगद ६२ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने आयोजक सिद्धार्थ युवा समाज क्लवका अध्यक्ष असिम राईले जानकारी दिएका छन्।

प्रतियोगितामा सहभागी हुन चाहने टिमले आगामी पुष १६ गतेभित्र टिम दर्ता गरािसक्नु पर्नेछ। टिम दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरू एउटै पालिका भित्रको हुनुपर्ने र सो खुल्ने आधिकारिक कागजात (नागरिकता, भोटर कार्ड वा राष्ट्रिय परिचय पत्र) अनिवार्य गरिएको छ। साथै, सम्बन्धित पालिकाबाट खेलाडीहरूको नामसहितको सिफारिस पेश गर्नुपर्ने नियम बनाइएको छ। एक टिममा ८ जना खेलाडी र १ जना प्रशिक्षक गरी जम्मा १० जनाको संख्या हुनुपर्नेछ।

खेलकुदको माध्यमबाट महिला खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने र स्थानीय स्तरमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ।