विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष नमोनारायण माझीको एकलौटी कार्यशैली र ‘अहंकार’ का कारण स्थानीय सरकार नै ठप्प बनेको छ । अल्पमतमा रहेर पनि कार्यपालिकाको बहुमतलाई ‘बाइपास’ गर्दै हिँड्ने अध्यक्ष माझीको व्यवहारले सोमबारको नगर सभासमेत अनिश्चितकालका लागि स्थगित भएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष माझीलाई एमालेबाट निर्वाचित उपाध्यक्ष गुणावती थारू र नेपाली कांग्रेसका जनप्रतिनिधिले समेत साथ छाडेपछि उनी अहिले पालिकामा पूर्ण रूपमा एक्लिएका छन् । सोमबार अध्यक्ष माझीको ‘पेल्ने’ नीतिका विरुद्ध उपाध्यक्ष थारुसहित ६ जना वडाध्यक्ष र १९ जना कार्यपालिका सदस्यले नगर सभा बहिष्कार गरिदिएका छन् ।


अध्यक्ष माझीले जनताका अगाडि सरल बन्ने ‘नाटक’ गरे पनि भित्रभित्रै सरकारी स्रोतको चरम दुरुपयोग गर्ने गरेको तथ्य खुलेको छ । उपाध्यक्ष गुणावती थारूले अध्यक्षको दोहोरो चरित्रमाथि प्रहार गर्दै भनिन्, ‘दिउँसो गाडी नचढ्ने नाटक गरेर जनतालाई ठग्ने अध्यक्ष ज्यू राति–राति व्यक्तिगत कामका लागि सरकारी गाडी कुदाउनुहुन्छ । पुस ४ गते आफ्नो जन्मदिन मनाउन सरकारी गाडी लिएर छिमेकी पालिका पुग्नु कुन नैतिकताले दिन्छ ?’

अध्यक्ष माझीले पत्रकारहरूसँग आक्रोशित हुँदै जन्मदिन मनाउन जानु आफ्नो व्यक्तिगत स्वतन्त्रता भएको तर्क गरे पनि सरकारी सम्पत्तिको दुरुपयोगले उनको ओहोदामाथि प्रश्न उठाएको छ ।


अध्यक्ष माझीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई समेत लत्याउँदै आएका छन् । गत चैतमा चीन भ्रमणमा जाँदा उनले कानुन बमोजिम उपाध्यक्षलाई कार्यवाहक दिनुपर्नेमा आफ्नै पार्टीका वडाध्यक्ष रमेशकुमार भगतलाई जिम्मेवारी दिएका थिए । ‘मलाई देख्नासाथ तर्किनेलाई कसरी कार्यवाहक दिनु’ भन्ने उनको गैरजिम्मेवारपूर्ण तर्कलाई उच्च अदालत विराटनगरले समेत गलत ठहर गर्दै उपाध्यक्षको पक्षमा फैसला गरिसकेको छ । धरानका हर्क साम्पाङ र झापाको कमल गाउँपालिकाको नजिरले समेत माझीको कदम गैरकानुनी देखाए पनि उनले आफ्नो शैली सुधार्नुको साटो झन् जिद्दीपन देखाउँदै आएका छन् ।


अध्यक्ष माझीको कार्यशैली कतिसम्म अराजक देखिन्छ भने, कुरा नमिलेपछि उनले उपाध्यक्ष र वडाध्यक्षहरूले चढ्ने सरकारी गाडी र मोटरसाइकलको साँचोसमेत खोसेका छन् । लोहन्द्रा खोलाको ठेक्का र बहुपोषण कार्यक्रममा एमाले–कांग्रेसका जनप्रतिनिधिले फरक मत राखेपछि उनले ‘आन्तरिक स्रोत घटेको’ बहाना बनाएर सवारी साधन फिर्ता लिएका हुन् । वडाध्यक्ष वीरनारायण चौधरीका अनुसार अध्यक्षले माओवादी कार्यकर्ता परिचालन गरेर जबरजस्ती मोटरसाइकलको साँचो खोस्न लगाएका थिए, जुन लोकतान्त्रिक पद्धतिमा लज्जास्पद मानिन्छ ।

यसअघि गत असारमा पनि माझीले एमालेबाट निर्वाचित वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरीलाई सात दिनसम्म गाउँसभामा निषेध गरेका थिए । अनुशासन भङ्ग गरेको भन्दै उनले निर्वाचित प्रतिनिधिमाथि गरेको यो ‘कू’ का कारण असारमा आउनुपर्ने बजेट भदौसम्म लम्बिएको थियो ।


ग्रामथानमा माओवादीबाट अध्यक्ष माझी र वडा नं. ३ का अध्यक्ष मात्रै छन् । बाँकी सबै वडा र कार्यपालिकामा एमाले–कांग्रेसको बहुमत छ । तर, बहुमतलाई मिलाएर लैजानुको साटो निषेधको राजनीति गर्ने माझीको ढिपीले ग्रामथानका जनताको विकास र सुशासनको सपनामाथि नै प्रहार भएको छ । अध्यक्षको व्यक्तिगत टकराव र गैरकानुनी अडानले गर्दा ग्रामथान अहिले विकासको सट्टा जनप्रतिनिधिबीचको ‘युद्ध मैदान’ बनेको छ ।