बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले शिक्षा केवल परीक्षा पास गराउने साधन नभई विद्यार्थीको चरित्र, व्यवहार र सामाजिक चेतनाको विकासका लागि हुनुपर्ने बताएका छन्।

प्याब्सन बेलबारी नगर समितिको दोस्रो परिषद् भेला कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख राईले अंक, ग्रेड र प्रमाणपत्रलाई मात्र प्राथमिकता दिँदा समाजमा असहिष्णुता, ईर्ष्या, घृणा र विभेद बढ्दै गएको बताए। विद्यार्थीलाई के पढायौँभन्दा पनि कसरी पढायौँ भन्ने कुरा बढी महत्वपूर्ण रहेको उनको भनाइ थियो।

नगर प्रमुख राईले शिक्षक र विद्यालय सञ्चालकको आचरण नै विद्यार्थीमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले इमानदारी, नैतिकता र जिम्मेवारीसहित शिक्षा दिन आग्रह गरे। साथै, कृत्रिम रूपमा नतिजा सुधार्ने प्रवृत्तिले दीर्घकालमा शिक्षा प्रणालीलाई क्षति पुर्‍याउने चेतावनी दिए।

उनले कानुनले व्यवस्था गरेको १० प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा विपन्न वर्गका विद्यार्थीलाई दिनुपर्ने स्पष्ट पारे। निजी विद्यालयहरूले नातागोता वा चिनजानका आधारमा होइन, वास्तविक गरिब तथा अवसरविहीन विद्यार्थी छनोट गरी छात्रवृत्ति दिनुपर्नेमा उनले जोड दिए। प्रतिभावान तथा आवश्यकतामा रहेका विद्यार्थीलाई अवसर दिनु विद्यालयका लागि पनि गर्वको विषय हुने उनले बताए।

नगर प्रमुख राईले निजी विद्यालयको योगदानसम्बन्धी तथ्यांक सार्वजनिक बहसमा ल्याउनुपर्ने उल्लेख गर्दै यसले शिक्षा सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।