प्याब्सन बेलबारी नगर समितिको दोस्रो परिषद भेला समपन्न भएको छ।  बेलबारी ९ डाँगीहाट  अवस्थित बल जगत अंग्रेजी बोर्डिंग स्कुलको सभा हलमा अध्यक्षता प्याब्सन बेलबारी नगर समितिका अध्यक्ष भगवती प्रसाद घिमिरे र  प्रमुख आतिथ्य बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई ले गरेका थिए ।

प्याब्सन बेलबारी नगर समितिको दोस्रो परिषद् भेला (साधारण सभा) को अवसरमा संस्थाको सवाङ्गिण विकासमा योगदान पुर्‍याउने व्यक्तिहरू र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

भेलामा संस्थाको विकासका लागि विभिन्न समयमा आर्थिक, भौतिक र नैतिक सहयोग पुर्‍याएका व्यक्तिहरूको अतुलनीय योगदानको उच्च प्रशंसा गर्दै भावी दिनमा समेत शैक्षिक क्षेत्रमा योगदान रहने अपेक्षा व्यक्त गरि, यसअन्तर्गत, एलाइड पब्लिकेसनका बाबुराम चौधरी, अल्फा पब्लिकेसनका अनुप निरौला र कान्तिपुर पब्लिकेसनका बसन्त नेपाललाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

त्यसैगरी, प्रगति ई. बोर्डिङ स्कूल, बेलबारी–६का सुशान्त खत्री (शैक्षिक सत्र २०८१, एस.ई.ई. ३.९६ GPA) र हिमालय ई. बोर्डिङ स्कूल, बेलबारी–७का बिनिता घिमिरे (शैक्षिक सत्र २०८१, एस.ई.ई. ३.८७ GPA) लाई बेलबारी नगरको गरिमा उच्च बनाएको योगदानको लागि दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

प्याब्सन बेलबारी नगर समितिका अध्यक्ष भगवती प्रसाद घिमिरेले निजी शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर उकास्ने, नीति–नियमको प्रभावकारी कार्यान्वयन गर्ने र संस्थागत समन्वय सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

दोस्रो कार्यकालको बीचमा रहेका अध्यक्ष घिमिरेले संगठनलाई मर्यादित, चुस्त र परिणाममुखी बनाउँदै स्थानीय सरकारसँग सहकार्यमा अघि बढ्ने बताए। उनले नीति पालना, पारदर्शिता र सदस्यहरूको सक्रिय सहभागिताविना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गरे।

अध्यक्ष घिमिरेले  शिक्षक दक्षता अभिवृद्धिका लागि नियमित तालिम, विद्यार्थी केन्द्रित कार्यक्रम तथा विद्यालय–अभिभावक–समुदायबीच सहकार्यलाई प्राथमिकता दिइने बताए । बेलबारीमा करिब २२ हजार विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै अध्यक्ष घिमिरेले निजी क्षेत्रको भूमिकालाई राज्यको शैक्षिक लक्ष्यसँग जोडेर अघि बढ्नुपर्ने बताए।

अध्यक्ष घिमिरेले  विद्यार्थी अनुशासन, सांस्कृतिक विचलन र विद्यालयमा देखिने चुनौती समाधानका लागि स्थानीय सरकार र समुदायसँग संयुक्त समन्वय संयन्त्र बनाउने प्रस्तावसमेत राखे। साथै, वित्तीय पारदर्शिता, मितव्ययी व्यवस्थापन र नियमित सूचना प्रवाहलाई संस्थागत गर्ने प्रतिबद्धता जनाए।

अध्यक्ष घिमिरेले“निजी क्षेत्र देशको विकासको इन्जिन हो, नीति–पालना र सहकार्यबाट बेलबारीलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाऔँ,”  बताए ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले शिक्षा केवल परीक्षा पास गराउने साधन नभई विद्यार्थीको चरित्र, व्यवहार र सामाजिक चेतनाको विकासका लागि हुनुपर्ने बताएका छन्।

प्याब्सन बेलबारी नगर समितिको दोस्रो परिषद् भेला कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख राईले अंक, ग्रेड र प्रमाणपत्रलाई मात्र प्राथमिकता दिँदा समाजमा असहिष्णुता, ईर्ष्या, घृणा र विभेद बढ्दै गएको बताए। विद्यार्थीलाई के पढायौँभन्दा पनि कसरी पढायौँ भन्ने कुरा बढी महत्वपूर्ण रहेको उनको भनाइ थियो।

नगर प्रमुख राईले शिक्षक र विद्यालय सञ्चालकको आचरण नै विद्यार्थीमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले इमानदारी, नैतिकता र जिम्मेवारीसहित शिक्षा दिन आग्रह गरे। साथै, कृत्रिम रूपमा नतिजा सुधार्ने प्रवृत्तिले दीर्घकालमा शिक्षा प्रणालीलाई क्षति पुर्‍याउने चेतावनी दिए।

उनले कानुनले व्यवस्था गरेको १० प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा विपन्न वर्गका विद्यार्थीलाई दिनुपर्ने स्पष्ट पारे। निजी विद्यालयहरूले नातागोता वा चिनजानका आधारमा होइन, वास्तविक गरिब तथा अवसरविहीन विद्यार्थी छनोट गरी छात्रवृत्ति दिनुपर्नेमा उनले जोड दिए। प्रतिभावान तथा आवश्यकतामा रहेका विद्यार्थीलाई अवसर दिनु विद्यालयका लागि पनि गर्वको विषय हुने उनले बताए।

नगर प्रमुख राईले निजी विद्यालयको योगदानसम्बन्धी तथ्यांक सार्वजनिक बहसमा ल्याउनुपर्ने उल्लेख गर्दै यसले शिक्षा सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

भेलामा समितिका सदस्य कृष्ण प्रसाद दुलालले स्वागत मन्तब्य राखेका थिए भने प्याब्सन मोरङ जिल्ला अध्यक्ष जगत बहादुर बस्नेत प्याब्सन बेलबारी नगर समितिका सल्लाहकार इरान राई एन प्याब्सन केन्द्र सदस्य नारायण ढकाल प्याब्सन पथरी शनिस्चरे नगर समितिका अध्यक्सः सन्तोष बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए भने बेलबारी नगर समिति प्याब्सनका सचिव बिनोद भण्डारीले भेला संचालन गरेका थिए।