बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुने दोस्रो बेलबारी महोत्सव–२०८२ को प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘बेलबारी दौडिन्छ’ नारासहित बेलबारी रन म्याराथन दौड प्रतियोगिता हुने भएको छ।
बेलबारी दौडका संयोजक शिवकुमार राईका अनुसार उक्त म्याराथुनले स्थानीय सांस्कृतिक पहिचान प्रवर्द्धन गर्नुका साथै स्वास्थ्य र खेलकुदप्रति जनचेतना फैलाउने उद्देश्य राखेको छ। कार्यक्रममा बेलबारी नगरपालिका मात्र नभई सम्पूर्ण प्रदेशभरिका इच्छुक सहभागीहरुको सहभागिता रहने उनले जानकारी दिए।
म्याराथन अन्तर्गत ५ किलोमिटर र १० किलोमिटर दूरीका दौड प्रतियोगिता आयोजना गरिनेछ। ५ किलोमिटर दौडका लागि तीन समूह निर्धारण गरिएको छ।
खुला महिला समूह : १२ वर्षदेखि ४९ वर्षसम्म,खुला पुरुष समूह : १६ वर्षदेखि ४९ वर्षसम्म,भेट्रान समूह : महिला तथा पुरुष दुवैका लागि ४० वर्षदेखि ४९ वर्षसम्म,प्रत्येक समूहमा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई प्रमाणपत्र, मेडल, नगद पुरस्कार तथा टिसर्ट प्रदान गरिने संयोजक राईले बताए।
त्यस्तै, १० किलोमिटर पुरुषतर्फ प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। भेट्रान समूहमा भने प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।
दौड कार्यक्रमको सुरुवाती केन्द्र बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग चोक रहनेछ। १० किलोमिटर दौडका सहभागीहरू लक्ष्मीमार्ग चोकबाट बेलबारी नगरपालिका–९ स्थित डाँगीहाट चोकसम्म पुगेर पुनः फर्कनेछन् भने ५ किलोमिटर दौड पनि सोही स्थानबाट सुरु भई त्यहीँ समापन हुनेछ।
संयोजक राईका अनुसार यो म्याराथनले बेलबारीको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। लक्ष्मीमार्गदेखि डाँगीहाट क्षेत्रसम्मको मार्ग समेटेर सम्पूर्ण बेलबारीलाई एकीकृत रूपमा चिनाउने उद्देश्यका साथ रुट तय गरिएको बताए ।




















