तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन्।

नेपाली कांग्रेसका नेता समेत रहेका लेखक पार्टी नेतृत्वसँगको सल्लाहमै बयान दिन पुगेका हुन्।

भदौ २३ मा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए।

२३ गतेको घटनालाई लिएर २४ गते काठमाडौंलगायत २८ जिल्लामा आन्दोलनकारीले विध्वंश मच्चाएका थिए।

संसद् भवनसँगै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

प्रहरीका कार्यालयमा आगजनीका साथै हतियार समेत लुटपाट भएको थियो।

आयोगले यसअघि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की (भदौ २४ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयको चार्ज बुझेका थिए), काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल, तत्कालीन काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीसँग बयान लिइसकेको छ।