विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिकामा २ जनाको मृत्यु भएको छ।  

पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका– ६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको हो।

बसले मालिका–७ अर्जे राम्चेको ओरालेमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको गुल्मी प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षको बच्चा अनुभव गिरी र पैदल यात्री मालिका ६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन्। 

बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई वनभोज लिएर जान हिँडेको थियो। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।