संखुवासभाको सिलिङचोङ गाउँपालिका-४ स्थितमा रहेको प्रहरी चौकी माङ्तेवा संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ।
पुस २४ गते आयोजित कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा चौकीको भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
भवन समुद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि घिमिरेले हिमाली तथा पहाडी दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकहरूको सुरक्षामा अहोरात्र खटिँदै आएको प्रहरीको दैनिकी नवनिर्मित भवनबाट थप सहज हुने बताउँदै नयाँ भवन प्राप्त भएसँगै आगामी दिनहरूमा प्रहरीद्वारा प्रदान गरिने सेवाका साथै अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा समेत थप प्रभावकारी हुने उपस्थित सम्पूर्णमा विश्वास दिलाउनु भयो। साथै वहाँले प्रहरी चौकीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, अनुशासित, इमानदार र सेवा भावका साथ नागरिकको मनोभावनालाई उच्च सम्मान गर्दै प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता दम्पती देऊ लक्ष्मी राई र पूर्ण कुमार राईलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो।समुद्घाटन कार्यक्रममा संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सिलिङ्चोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङ, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मी, स्थानीय बासी लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
८ कोठा भएको अढाई तले उक्त भवन १ करोड ७७ लाख ६७ हजार ४ सय ९६ रुपैयाँको लगतमा नेपाल सरकारको नियमित बजेटमा निर्माण कार्य सम्पन्न भएको हो।

















