विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेशका ८ जिल्लाका सभापतिहरूले वर्तमान परिस्थितिमा पार्टीको विशेष महाधिवेशनको कुनै वैधानिक औचित्य नरहेको बताएका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीलाई आन्तरिक विवादमा नअल्झाई आगामी निर्वाचनमा केन्द्रित हुन नेतृत्वलाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा मोरङका डिग बहादुर लिम्बु, झापाका देउमान थेबे, खोटाङका विष्णु कुमार राई, पाँचथरका रुपनारायण जबेगु, इलामका डम्बर खड्का, ओखलढुङ्गाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र तुम्याङ सुब्बा र संखुवासभाका का.बा. सभापति अनन्त कुमार गौलीले हस्ताक्षर गरेका छन् ।
प्रतिनिधिसभा विघटनपछिको तरल राजनीतिक अवस्था र आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको सन्दर्भ उल्लेख गर्दै सभापतिहरूले देश निर्वाचनको प्रक्रियामा अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको माग सान्दर्भिक नभएको उल्लेख गरेका छन् ।
"नियमित महाधिवेशन हुन नसकेको अवस्थामा मात्र विशेष महाधिवेशनको माग गरिन्छ, तर अहिले नियमित महाधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा केन्द्रीय तहको मात्र अधिवेशन हुने गरी विशेष महाधिवेशनको कुनै वैधानिक औचित्य छैन," विज्ञप्तिमा भनिएको छ ।
पार्टीको विधान अनुसार महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको स्मरण गराउँदै उनीहरूले सिंगो पार्टीलाई अन्य भेला र समारोहमा नअल्झिन आग्रह गरेका छन् । मुलुकको सुरक्षा संवेदनशीलता र राजनीतिक निकासका लागि नेपाली कांग्रेस थप जिम्मेवार बन्नुपर्ने उनीहरूको ठहर छ ।




















