नेपाली कांग्रेसका पूर्वसांसद सुनिल शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई रोइलो छाडेर भोलि विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै शर्माले अग्रजहरूले बनाएको पार्टी देखेर अहिले वीपी कोइरालादेखि सुशील कोइरालासम्मको आत्म रोइरहेको भन्दै विधि र पद्दतिका लागि कांग्रेस डगमगाउन नहुने बताए।
‘तर आज दुःखका साथ भन्नुपर्छ, हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मूल्य मान्यतालाई लत्त्याएर ५४ प्रतिशत मतलाई सम्मान गर्न सकेन’, उनले भने, ‘सभापति शेरबहादुर देउवालगायत ज-जसले कांग्रेसको मतको अवमूल्यन गर्नुभयो तपाईँहरूलाई यो मासले गिज्याइरहेको छ ।’
उनले कांग्रेस मारकाट र झगडामा विश्वास नगर्ने मध्यमार्गी पार्टी भएको भन्दै शेरबहादुर ठुलो इतिहास बोको नेता भएकाले भोलिबाट सुरु हुने बन्द सत्रमा सहभागी हुन आग्रह गरे।
‘तपाईँलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेला हिजो जसले सभापति बनायो। अब रोइलो छाडेर यो हलमा आउनुस्। तपाईँलाई पाँच सात वटा विकल्प दिन सक्छौँ’, शर्माको आग्रह छ।




















